भनिन्छ धन हुनेसँग मन हुँदैन र मन हुनेसँग धन हुँदैन । तर दुनियामा यस्ता केही व्यक्ति हुन्छन् जो सँग धन पनि हुन्छ र मन पनि हुन्छ । विश्वका दोश्रो धनी व्यक्ति विल गेट्स पनि धन र मन दुबै हुने व्यक्तिमा पर्छन । उनीसँग जतिधेरै पैसा छ उति फराकिलो मन पनि छ । त्यसैले होला उनले आफु र श्रीमतीका नाममा एक संस्था नै खोलेर विश्वव्यापी रुपमा विभिन्न समाजसेवाका काम गरिरहेका छन् । समाजसेवाकै पछिल्लो उदाहरण स्वरुप उनको बिल एण्ड मेलिण्डा फाउण्डेसनले अत्याधुनिक शौचालय निर्माणको योजना बनाएको छ ।
आफ्नो संस्थाले बनाउने योजना बनाएको शौचालयले विश्वभरको सरसफाइको अवस्थामा सुधार गर्ने गेट्सको आशा छ । वासिंटनस्थित सिएटल क्याम्पसमा हालै आयोजित रिइन्भेन्ट ट्वाइलेट नामको समारोहमा विल गेट्सको संस्थाले बनाउने त्यस्तै प्रकारका विभिन्न मोडेलका ट्वाइलेट प्रदर्शन गरिएको थियो । त्यसमध्ये एउटा यस्तो शौचालय थियो जसले माइक्रोवेभ उर्जाको मद्धतले मान्छेको मलमुत्रलाई विजुलीमा परिणत गर्नसक्छ । त्यस्तै अर्को शौचालय पनि प्रदर्शनीमा राखिएको थियो जसले मलमुत्रलाई कोइलामा परिणत गर्दथ्यो भने एउटा शौचालय त यस्तो पनि थियो जहाँ दिशा सफा गर्न पिसाबको प्रयोग गरिन्थ्यो । मेलामा कुल २८ प्रकारका शौचालय प्रदर्शन गरिएको थियो भने क्यालिफोर्निया टेक्नोलोजी इन्स्िटच्युटले बनाएको शौचालयले पहिलो पुरस्कार प्राप्त गर्यो ।
स्मरण रहोस् चर्पी प्रयोग नगरेकै कारण फोहोरमैलाबाट लाग्ने विभिन्न रोगले हरेक वर्ष विश्वमा १५ लाख बालबालिकाको ज्यान जाने गरेको छ । त्यसैले यस्तो अकाल मृत्यु रोक्न तथा मानिसमा चर्पी प्रयोगप्रति जनचेतना जगाएर जनस्वास्थ्यमा सुधार ल्याउनका लागि भन्दै गेट्स फाउण्डेसनले शौचालय बनाउने योजनाका लागि ३७ करोड डलरको बजेट छुट्टाएको छ । यो बजेटबाट विभिन्न आधुनिक प्रविधिका वातावरण र जनस्वास्थ्यमैत्री चर्पी बनाउने उसको लक्ष्य छ ।